मंगलबार ०१ आश्विन २०८१

विराटनगरमा अत्यधिक सिटी सफारीका कारण सडक अस्तव्यस्त र दुर्घटनाको संख्या बढ्न थालेपछि रानी सिमादेखि विराटनगर ढाटसम्मको राजमार्गमा गुड्ने सिटी सफारीलाई रोक लगाइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र विराटनगर महानगरपालिकाको संयुक्त पहलमा कोशी राजमार्ग अन्तर्गत रानी ढाटदेखी विराटनगर ४ स्थित ढाटसम्म चल्ने तीन पाङ्ग्रे सिटी सफारीलाई रोक लगाइएको हो ।

सिटी सफारीलाई व्यवस्थित र सवारी आवागमनलाई चुस्त दुरुस्त राख्नको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र महानगरपालिकासँगको सहकार्यमा नयाँ नियम लागू गर्दै अब यो नियम अगाडि बढाउन लागेको छ ।

विराटनगरमा अहिले ८ हजार भन्दा बढी सिटी सफारी चल्दै आएका छन् । तर विराटनगर महानगरपालिकामा भने करिब दुई हजार सिटी सफारी दर्ता भएको उल्लेख गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार भदौ १३ गतेदेखि विशेष योजनासहित सिटी सफारीमा नयाँ नियम लागू गरेको छ । कोशी राजमार्ग अन्तर्गत गुड्ने सिटी सफारी बिहीबारबाट पूर्ण रुपमा निषेध गरिएको न्यौपानेले जानकारी दिनुभयो। यसका लागि यस अघि नै विराटनगर महानगरपालिकाले माईकिङ्ग समेत गरिसकेको जनाइएको छ ।

सफारी संख्या दिनहुँ बढीरहेको र ट्राफिक व्यवस्थापनमा थप चुनौती थपिरहेकाले व्यवस्थित बनाउन यस्तो नियम लागू गरिएको मोरङ ट्राफिक प्रहरीले जनाएको छ । सिटी सफारीको लागि अब राजमार्ग वारिपारी गर्न केही निश्चित स्थान तोकिन्छ ।

यसलाई प्रभावकारी कार्यान्वयन तर्फ हामी लाग्ने छौँ ट्राफिक प्रमुख न्यौपानेको भनाई छ । यसका साथै नयाँ नियम लागू भएपछि भने दर्ता नभएका सफारीलाई होल्डिङ सेन्टरमा राख्ने गरी तयारी महानगरपालिकाले जनाएको छ ।

अन्य स्थानबाट विराटनगर भित्रने सफारीलाई नाकामा नै कडाई गर्ने तयारी रहेको महानगरले जनाएको छ । महानगरका नगर प्रहरी प्रमुख राजन पौडेलले मुख्य राजमार्गमा सिटी सफारी लगायतका सवारीलाई व्यवस्थित गर्ने काम ट्राफिक प्रहरीको भएको बताउनुभयो ।

यसका लागि महानगरले यो कार्यमा ट्राफिक प्रहरीलाई सहयोग गर्ने समेत बताउनुभयो । महानगरले करिब ७ महिना अगाडी नै राजमार्गमा गुड्न र विराटनगरमा दर्ता नभएका बाहेकको सफारीलाई प्रवेशमा निषेध गरेको खबर आवर विराटनगरले उल्लेख गरेको छ ।


Last Updated on: August 30th, 2024 at 7:37 am
३९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया