मंगलबार ०१ आश्विन २०८१

मोरङ बुढीगंगा गाउँपालिकाको आयोजना साथै नोना कोइराला स्मृति प्रतिष्ठान नेपाल र KHDC नेपाल को प्राविधिक सहयोगमा  बुढीगंगा वडा नम्बर ७ स्थित डंग्राहामा भएको निःशुल्क स्वास्थ्य शिविरमा काँग्रेस नेता डा.शेखर कोइरालाले आफैं बिरामीको स्वास्थ्य चेकजाँच गरेका छन् ।

 

डंग्राहास्थित लक्ष्मी माविमा आयोजित शिविरको उद्घाटनका क्रममा उनले बिरामीको स्वास्थ्य चेकजाँच गरेर प्रारम्भ गरेका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले गाउँघरमै स्वास्थ्य शिविर सञ्चालन गर्दा अस्पताल नपुगेका बिरामीहरुको स्वास्थ्य अवस्था पत्ता लाग्ने भएकाले शिविर महत्वपूर्ण रहेको बताए ।

उनले नोना कोइराला प्रतिष्ठानले विगतदेखिनै जनताको स्वास्थ्यप्रति सचेत रहँदै निःशुल्क स्वास्थ्य शिविरमा सहयोग गर्दै आएको बताउँदै जनताहरुले गाउँघरमै स्वास्थ्य सेवा लिन चाहिरहेको बताए । ‘अहिले जनताले गाउँघरमै स्वास्थ्य र शिक्षाको सहज पहुँच चाहिरहेका छन् ।

शिविरमा मृगौला, मुटु, मधुमेहलगायतका रोगको परीक्षण गरिएको थियो । चेकजाँचका क्रममा जटिल समस्या देखिएका बिरामीलाई अस्पतालमा उपचारको समेत व्यवस्था मिलाएको प्रतिष्ठानले जनाएको छ । त्यस्तै शिविरमा इको, इसीजी, फोक्सो, उच्च रक्तचापसँग सम्बन्धित सबै किसिमको ल्याब सेवा समेत प्रदान गरिएको थियो ।

स्वास्थ्य परीक्षण गराउँदै पालिका अध्यक्ष जित नारायण थापा मगर

शिविरमा औषधिसमेत निःशुल्क रुपमा वितरण गरिएको प्रतिष्ठानका महासचिव अमित श्रीवास्तवले जानकारी दिए । अस्पतालमा गएर चेकजाँच गर्दा कम्तीमा ७ हजार रुपैयाँ खर्च लाग्ने चेकजाँच र उपचार प्रतिष्ठानले निःशुल्क गरेको उनको भनाइ छ ।

प्रतिष्ठानले हरेक वर्ष स्वास्थ्य शिविर सञ्चालन गर्न सहयोग गर्दै आएको छ । बुढीगंगा गाउँपालिका को आयोजनामा गत वर्ष बूढीगंगाकै वडा नम्बर २, ४ र ६ नम्बरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको र यसले स्वास्थ्यमा पहुंच नभएकाहरुलाई स्वास्थ्य सेवा पुगेको बुढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापाले बताए । यस आर्थिक वर्षको पहिलो शिविरमा ५ सय १७ जनाले स्वास्थ्य सेवा लिएको महासचिव श्रीवास्तवले जानकारी दिए ।


Last Updated on: August 17th, 2024 at 1:30 pm
४०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया