आइतबार २३ भाद्र २०८१

सुनसरी र मोरङको सीमा भएर बग्ने बुढी खोलामा मङ्गलवार आएको बाढीले मोरङ सुन्दरहरैंचा ५ फाेक्सीका ५ जनालाई बगाउँदा एकको मृत्यु भएको छ ।
खोलामा माछा मार्न जाने क्रममा एक्कासि बाढी आएपछि पाँच जनालाई बगाएको हो ।

बाढीले बगाउँदा मोरङ सुन्दरहरैंचा ५ फाेक्सीका २३ वर्षीया प्रेम कला चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । पाचँजना मध्ये स्वस्तिका चौधरी भने रुखको ठुटामा अल्झिएको देखेपछि स्थानीयले उनलाई उद्धार गरेका थिए ।

बाढीले सुन्दरहरैंचा ५ कि ३५ वर्षीया फुल कुमारी चौधरी , ६० वर्षीया अफसरा चौधरी र एक जना पुरुषलाई बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । खोलामा बाढी आएपछि सो क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ भने सुन्दरहरैंचाका नगर प्रमुख केदार प्रसाद गुरागाईँले घटना प्रति दुख व्यक्त गर्दै उचित राहतको व्यवस्था गर्ने बताएका छन् । घटनामा मृत्यु हुने र बेपत्ता हुने एकै परिवारको रहेको बुझिएको छ ।

त्यस्तै मोरङकै केराबारिमा विद्यालय जाँदै गरेका एक जना बालकलाई खोलाले बगाएको छ ।केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईलाई मंगलबार बिहान ९ बजेतिर गोविने खोलाले बगाएको हो । वडाध्यक्ष शिवप्रसाद तामाङका अनुसार घटनास्थलबाट खोलाले बगाएर करिब एक सय मिटर तल पुर्याएको अवस्थामा शव भेटिएको छ ।

बालकलाई खोलाले बगाएको जानकारी पाउनसाथ स्थानीयले खोजी थालेका थिए । टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा बिहान ९ः५० बजेतिर शव फेला परेको वडाध्यक्ष तामाङले बताए ।मृतक श्याम केराबारी–४ चिउरी भञ्ज्याङस्थित जनकल्याण माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए ।


Last Updated on: June 25th, 2024 at 4:09 pm
१०८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया