आइतबार २३ भाद्र २०८१

बिहीबार भक्तपुरमा मृत फेला परेका इन्जिनियर नवीनकुमार पोखरेलले परिवारलाई पनि जति सक्दो छिटो देश छाड्न भनेको ‘सुसाइड नोट’ फेला परेको छ।

भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौंले गत मंगलबार पोखरेललाई पनि दोषी ठहर गर्दै सजाय सुनाएको थियो। यस्तै उनीमाथि गएको वैशाख ३१ गते फेरि सेक्युरिटी प्रिन्टिङकै भ्रष्टाचारमा अर्को मुद्दा पनि दायर भएको थियो, जुन अझै विचाराधीन छ।

वन तथा वातावरण मन्त्रालयका निलम्बित इन्जिनियर पोखरेललाई अदालतले ६ महिना कैद, ५ करोड ८४ लाख ५५ हजार १५९ रुपैयाँ ७ पैसा जरिवाना र बिगो बराबरको रकम असुल उपर हुने ठहर गरेको थियो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको दुई दिनपछि उनी आफ्नै घरमा झुण्डिएर गम्भीर अवस्थामा फेला परेका थिए। पोखरेलकी पत्नीले बिहानको खाना तयार गरेर खान बोलाउन जाँदा उनलाई रेलिङमा झुण्डिरहेको अवस्थामा फेला पारेकी थिइन्। तत्काल डोरी काटेर अस्पताल लगिएको थियो। तर, अस्पतालले बिहान ११ बजेतिर उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रमुख एसपी अजय केसीले बताए।

सुसाइड नोट र परिवारले दिएको जानकारीका आधारमा उनले आत्माहत्या गरेको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ। पोखरेलका छोराले कानुनअनुसार प्रक्रिया अगाडि बढाउन प्रहरीमा निवेदन दिएका छन्।

उनको साथमा फेला परेको सुसाइड नोटमा आफ्नै कारणले आत्महत्या गरेको उल्लेख छ। उनले आफ्नो मृत्युमा कसैलाई पनि दोष नलगाउन प्रहरीलाई अनुरोध गरेका छन्। उनले श्रीमतीलाई सम्बोधन गर्दै लेखेको नोटमा परिवारलाई जति सक्दो चाँडो विदेश जान भनिएको छ।

‘नेपालमा बस्न ठिक छैन। तिमीहरू पनि मिलेसम्म जति सक्दो छिटो विदेश गएर बस्नू। नेपालमा नबस्नू’, नोटमा उल्लिखित विवरणबारे अनुसन्धानमा संलग्न एक अधिकारीले भने।

उनले श्रीमतीलाई जुनीभरि साथ दिन नसकेकोमा माफी मागेका छन्। ‘यो जुनिभरि नै सँगै बाँच्ने रहर थियो तर पूरा हुन सकेन। अर्को जुनी पाइएछ भने पनि तिम्रै श्रीमान् हुन पाऊँ,’ नोटमा उल्लेख छ।

उनले परिवारलाई आफ्नो किरिया पनि सकेसम्म नगर्न र गर्ने भए पनि ५ दिनमा सक्न भनेका छन्। यस्तै आफ्नो कारोबारबारे जानकारीहरू पनि उनले लेखी छाडेका छन्। तर, अदालतको फैसलाबारे भने केही पनि उल्लेख नरहेको स्रोतले जानकारी दिएको छ। वन तथा वातावरण मन्त्रालयमा कार्यरत उनी यो मुद्दा दायर भएसँगै निलम्बनमा परेका थिए। – खबर सेन्टर


Last Updated on: May 29th, 2024 at 1:10 pm
१०२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया